कर्णालीमा पर्यटन गुरुयोजना

भौगोलिक हिसाबले विकट मानिने कर्णाली प्रदेशले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । त्यस क्षेत्रमा पाईने र संभावना भएका क्षेत्र पर्यटन, ऊर्जा, जडिबुटी, नदीनाला, धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरुलाई प्राथमिकतामा राखेर गुरुयोजना निर्माण गर्न लागिएको हो । नेपाल भ्रमण वर्ष २०२० मनाउने सरकारको नीति तथा कार्यक्रम अनुसार प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको हो । गुरुयोजना निर्माणका लागि कर्णालीले ६ जनाको प्राविधिक विज्ञ टोली समेत परिचालन गरिसकेको छ ।

गुरुयोजना प्रदेश सरकारको उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्रालयले निर्माण गर्न लागेको हो । गुरुयोजना निर्माणमा कार्यरत प्राविधिकको टोली यतिबेला कर्णाली प्रदेशका जिल्ला–जिल्लामा योजना तर्जुमा गोष्ठीमा जुटिरहेका छन् ।

यसैक्रममा जाजरकोटमा भएको छलफलमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेका क्षेत्र र साहसिक पर्यटनका लागि ¥याफ्टिङ र पदमार्गलाई छनोट गरेको छ । जाजरकोटको परिबगरदेखि छेडाचौरसम्म भेरी नदी जलयात्रा छनोट गर्ने क्रममा रिम्ना र छेडाचौरलाई जलयात्राको बासस्थान छनोट गरिएको समूहका प्रमुख रामचन्द्र सेडाइँले जानकारी दिनुभयो ।

गोष्ठीले जुम्ला र डोल्पालाई जोड्न चाखुरे र नदईडाबलाई पदमार्गमा छनोट गरेको छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको केन्द्रबिन्दुमा जाजरकोट जिल्ला रहनु, भारत र चीनलाई जोड्ने त्रिदेशीय दु्रतमार्गका रुपमा रहेको भेरी करिडोर जाजरकोट जिल्ला भएर डोल्पा जानु, एक हजार ७७६ किलोमिटर लम्बाइ रहेको मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा ८२ किलोमिटर दूरी रहनुलाई पर्यटन विकासको सम्भावनामा राखिएको छ ।

विश्वकै उत्कृष्ट बहुमूल्य काइनाइट, टुर्मालिन, गार्नेट, रुवीलगायतका रत्नपत्थरको भण्डारस्थल रहेको जाजरकोटमा पाइने फलाम, तामा, ग्राफाइडजस्ता खनिजलाई पनि पर्यटन विकासका खम्बाका रुपमा लिने गरिएको छ ।

डोल्पा जिल्लाको प्रवेशद्धारको रुपमा रहेको जाजरकोटको जलाशययुक्त नलगाड जलविद्युतले जिल्लाको पर्यटन विकासमा योगदान गर्न सक्ने अनुमान गरिएको छ । विभिन्न जङ्गलमा पाइने ५० भन्दा बढी प्रजातिका बहुमूल्य जडीबुटी, विश्वकै दुलर्भ वन्यजन्तु रेडपाण्डा, सुनगिद्ध, चिरकालिज, जलेवा, डाँफे, मुनाल, कस्तुरीलगायतका जनावर र पंक्षीले पनि पर्यटन विकासमा सहयोग पुग्ने विश्वास कर्णाली प्रदेश सरकारको छ ।

जिल्लाको पर्यटन विकासमा योगदान गर्न सक्ने निजी क्षेत्रलाई प्रवद्र्धन गर्न होटल व्यवसायीलाई सरकारले अनुदान दिने व्यवस्था गर्नुपर्ने, पर्यटन उद्योगमा काम गर्ने मानवीय क्षमता विकासका लागि विभिन्न सीप विकास तालीमको आयोजना गर्नुपर्ने तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने जिल्लाबासीले माग राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार