सगरमाथाको ट्राफिक जामबारे आरोहीहरुको अनुभव


काठमाडौं । सगरमाथा आरोहणमा जाँदा र फर्कदा सबैले एउटै डोरीको बाटो भएर हिड्नुपर्ने भएकाले लामो लाईनमा बस्नुपरेको आरोहीहरुले बताएका छन् । जाने र फर्कने बाटो फरक भए यसरी लाईन बस्नुपर्ने अवस्था नआउने उनीहरुको भनाइ छ । ‘जाने र फर्कने एउटै डोरीको बाटो हुँदा सुरक्षालाई महत्व दिनुपर्छ । यस्तो बेलामा लामो लाईनमा बस्नुपर्छ’, आरोही दावा शेर्पाले भन्नुभयो, ‘फर्कर्ने बाटो अर्को बनाइए यसरी लाईनमा उभिरहनु पर्ने थिएन ।’


अर्का आरोही कान्छीमाया तामाङले मौसमका कारणले पनि सगरमाथामा ट्राफिक जाम हुने गरेको अनुभव सुनाउनुभयो । ‘आरोहण गर्दा ट्राफिक जामबारे मौसममा भर पर्छ ।’ उहाँले थप्नुभयो ‘मौसम राम्रो छ भन्ने रिपोर्ट ले नै जाम भएको हो, किनकी सबैले राम्रो मौसमै आरोहण गर्न जोड गर्छन् ।’ तामाङले आरोहणमा जानेहरुको ‘ओभर कन्फिडेन्ट’ देखिँदा पनि दुर्घटना निम्तिने गरेको सुनाउनुभयो । ‘भारतीयहरुमा ओभर कम्फिडेन्ट भएकाले फर्क भन्दा नमान्ने, नसक्ने अवस्थामा पनि जान खोज्ने हुँदा दुर्घटना हुने गरेको छ ।’ उहाँले भन्नुभयो ।
वसन्त याममा सधैं नै सगरमाथामा आरोहीहरुको चाप हुने गरेको पर्यटन व्यवसायी डेण्डी शेर्पाले बताउनुभयो । ब्यवस्थापनको कमजोरी, आरोहणमा जाने कतिपयसंग अनुभव नहुनु, अपांगता भएकाहरुलाई समय लाग्ने भएकाले पनि सगरमाथा आरोहणका क्रममा ट्राफिक जाम र दुर्घटा हुने गरेको उहाँले भनाई छ ।


आरोही कामीरिन्जी शेर्पाले पहिलेको तुलनामा अहिले सगरमाथा आरोहणमा जानेको संख्या उल्लेख्य रहेकाले अघि अनुमति लिनेले अघि र पछि अनुमति लिनेले पछि नै आरोहण गर्नुपर्ने व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो । सगरमाथामा भाषाको समस्याका कारण पनि दुर्घटना हुने गरेको आरोही भूमिरा गुरुङले बताउनुभयो । सगरमाथामा हुने गरेको आरोहीहरुको ट्राफिक जाम, जोखिम न्यूनिकरण तथा वातावरणीय संरक्षणका विषयमा नेपाल पर्वतारोहण संघ (एनएमए) ले आयोजना गरेको अन्तरकृया कार्यक्रममा आरोहीहरूले सगरमाथामा हुने विविध गतिविधिबारे सुझाएका हुन् ।


सगरमाथा सफाईबारे कोष नै स्थापना गरी फोहोर संकलनवापत आरोहण दलबाट केहि प्रतिशत शुल्क लिई सफाइ अभियानमा खर्च गर्दा उचित हुने सरोकारवालाहरुले बताएका छन् । सगरमाथामा फोहोर छ भनिरहँदा सबैले आफ्नो जिम्मेवारी बहन गर्न बिर्सन नहुने पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठले बताउनुभयो । हिमाल नीति नै बनाउनुपर्छ भनेर २००८ सालमै दिएको सुझाव आजसम्म सरकारले सुनुवाई नगरेको उहाँको आरोप छ ।


‘जिम्मेवारीबाट पन्छिने हाम्रो संस्कारमा सुधार गर्न आवश्यक छ’, उहाँले थप्नुभयो, ‘अहिले दिइएको सुझावलाई पनि थन्क्याएर राख्ने काम सरकारबाट नगरियोस् ।’
सरकारले आजसम्म हिमालका लागि उद्दार टोलीको व्यवस्थापन गर्न नसकेकोप्रति आरोहीहरुले आक्रोस पोखेका थिए । हिमाल आरोहण सम्बन्धी अनुभव र कम ज्ञान सीप भएका, गाईड नभएका, हिमाल आरोहणको मापदण्ड पुरा नगरेका, बढी आत्मश्विासी हुँदा पनि कतिपयले हिमालमा ज्यान गुमाउनु परेको सरोकारवालाको भनाई छ । सगरमाथामात्र नभई नेपालका आठ हजारमीटर भन्दा अग्ला दर्जन हिमालहरुमा आरोहण गराउनेतर्फ सोच्नुपर्ने सहभागीको सुझाव छ ।


अन्तरकृयामा एनएमएका अध्यक्ष शन्तबीर लामाले आरोही र सरोकारवालाहरुको सुझावलाई नेपाल लगायत अन्तर्राष्ट्रिय स्तरमा समेत पेश गर्न सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो । ’आरोहीहरुको आवाजको आधारमा नेपाल सरकारलाई सुझाव दिन कार्यक्रम गरेका हौं’, लामाले भन्नुभयो ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले आरोही र व्यवसायीले दिएका सुझाव छिटो कार्यान्वयनमा आफ्नो सक्रिय भूमिका रहने आश्वासन दिनुभयो । ‘नीतिगत काम सरकारले गर्ने हो र व्यवहारिक रुपमा सरोकारवाला र व्यवसायीले गर्ने हो । अहिले प्राप्त सुझाव कार्यान्वयन हुने संभावना देखेको छु । यसमा मेरो पनि भूमिका हुने छ । एकअर्कालाई आरोप लगाउनुभन्दा सबै लागिपरौं’, निर्देशक घिमिरेले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार