साना हिमालको अनुभव नभएकाले सगरमाथा आरोहण गर्न नपाउने


काठमाडौं । सगरमाथा आरोहण गर्न चाहनेले सरकारले तोकेको मापदण्ड पुरा गर्नुपर्ने भएको छ । सरकारले आउँदो सिजनदेखि ६ हजारदेखि ७ हजार मीटर उचाईसम्मका हिमाल आरोहणको अनुभव गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्डको व्यवस्था गरेको हो । सरकारले जेठमा गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार स्वदेशी या विदेशी पैसा हुनेले पनि अब सिधै सगरमाथा आरोहण गर्न नपाउने भएका छन् ।

बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री योगेशकुमार भट्टराईले आगामी सिजन देखि हिमाल आरोहणमा जानेलाई स्वास्थ्य परिक्षण गरेर मात्रै अनुमति दिने बताउनुभयो । प्रतिवेदनमा उल्लेख भए अनुसार ऐन, नियम, मापदण्डलाई समेत परिमार्जन गरी अघि बढ्ने र नयाँ मापदण्ड बनाउनु पर्ने भए बनाएर अघि बढ्ने बताइएको छ ।

मन्त्री भट्टराईले आरोहणमा जाने सबै आरोहीलाई सगरमाथा सुरक्षित रहेको भन्दै आरोहण गर्नु पूर्व सबै मापदण्ड पुरा गर्न आग्रह गर्नुभयो । मन्त्री भट्टराईले सगरमाथालगायतका हिमाल आरोहणमा हुने अश्लिल हर्कत नगर्न समेत आरोहीलाई चेतवानी दिनुभयो ।
गत जेठमा सरकारले गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई बुझाएको प्रतिवेदनले यस्तो सिफारिस गरेको हो ।

सुझावले आउँदो सिजनदेखि आरोहण दलको सम्पर्क अधिकृत (लियाजन अफिसर)मा आरोही शेर्पाहरूलाई पनि समेटिने बताएको छ । ‘यसअघि स्नातक पास गरेका आरोही शेर्पालाई लियाजन अफिसर तोक्न सकिने प्रावधान भएपनि अबदेखि एसएलसीसरह अध्ययन गरेको अनुभवी शेर्पालाई पनि सम्पर्क अधिकृतको समूहमा समेटिने भएको छ ।

यस अघि आधार शिबिरसम्म नपुग्ने सम्पर्क अधिकृतहरुले आउने सिजनबाट नपाउने भएका छन । गत बर्ष ९१ जना सम्पर्क अधिकृत खटाएकोमा २२ जना मात्रै आधार शिबिर पुगेकाले नगएका अधिकृतहरुलाई अर्को बर्ष देखि सम्पर्क अधिकृतमा नखटाउने गरी सुझाव पेश गरेको कार्यदलका संयोजक उपाध्यायले जानकारी दिनुभएको छ । प्रतिवेदनले आधार शिविरमा नपुग्ने निजामतीतर्फका सम्पर्क अधिकृतलाई सेवा अवधिभर रोक्नुपर्ने प्रस्ताव गरेको छ । धेरैजसो लियाजन अफिसर आधार शिबिर नपुगेकाले सर्वत्र आलोचना भएको थियो ।

प्रतिवेदन अनुसार चिकित्सकको स्वास्थ्य जाँच पनि अनिवार्य गरिएको छ । स्वास्थ्य परीक्षणमा अयोग्य देखिए आरोहण दलका सदस्य, गाइड, हेल्पर, सहयोगी आदि कुनै पनि भूमिकामा हिमाल आरोहण गर्न नपाउने भएका छन् ।

पर्वतारोहणका क्षेत्रमा देखापरेका नीतिगत, कानुनी र संरचनागत कार्यविधि सुधारका लागि सुझाव दिन प्रधानमन्त्रीस्तरीय निर्णयबाट सुझाव समिति गठन गरिएको थियो । समितिमा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा र ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) का अध्यक्ष नवराज दाहाल सदस्य रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार