किपको साधारणसभामा पर्यटनमन्त्रीले भन्नुभयो ‘आउनुहोस हातेमालो गरौं’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटनकीय संघ संस्था र निजी क्षेत्रसंग हातेमालो गरेरमात्र नेपाल भ्रमण वर्ष सफल बनाउन सकिने बताउनुभएको छ । काठमाडौं ईन्भाइरोमेन्ट एजुकेशन प्रोजेक्ट (किप) को तेइसौं साधारण सभाका प्रमुख अतिथी मन्त्री भट्टराईले पर्यटन क्षेत्रका हरेक समस्या र सुझावबारे जानकारी लिन महिनाको एकदिन छुट्याइएको बताउनुभयो । ‘तपाईहरुको हरेक सल्लाह, सुझाव सुन्नलाई मन्त्रालयमा महिनाको एक दिन छुट्याएको छु, आउनुहोस छलफल गरौं ।‘ उहाँले भन्नुभयो, ‘भ्रमण वषलाई सफल बनाउन सबै मिलेर लागौ ।’

किपका अन्तर्राष्ट्रिय कार्यकारी अधिकृत इयान वालले किपको पृष्ठभूमि र किपले गर्दै आएका कामबारे चर्चा गर्नुभयो । साधारणसभामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पर्यटन क्षेत्रमा गुणस्तर बृद्धि र विकासका लागि किपसंग सहकार्य गर्न आफ्नो संस्था तयार रहेको बताएका थिए ।

पर्या–पर्यटन निर्माणमा काम गर्दै आएको किपले पछिल्लो समयमा ग्रामिण बस्तीहरुको आवश्यकता अनुसार खानेपानी, स्वास्थ्य र सरसफाई क्षेत्रमा समेत काम गर्दै आएको छ । किपले सुरक्षित हिमाल आरोहण तथा सुरक्षित पदयात्राबारे प्राथमिक उपचार सम्बन्धी तालिम, भाषा, सिप आदिबारे सचेतना र तालिम सञ्चालन गर्दै किपले जनाएको छ ।

उद्घाटन सत्रमा किपले आफ्नो गतिविधिबारे जानकारी गराउन तयार पारेको पुस्तक विमोचन समेत गरीएको थियो । किपका अध्यक्ष बिमल नहर्कीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा किप र पर्यटन क्षेत्रमा स्थापना कालदेखि अहिलेसम्म योगदान गर्दै आउनुभएका देश विदेशका व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

किपको साधारणसभामा आर्थिक प्रतिवेदन तथा प्रगति प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको अध्यक्ष बिमल नहर्कीले बताउनुभयो । किपमा नयाँ सदस्यताका लागि फारम भर्ने र सदस्य बढ्ने क्रम शुरु भएको किपका सचिव पिताम्बर गुरुङले बताउनुभयो । २०४९ सालमा स्थापना भएको किपमा हाल १ सय ३० जना सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार