डा. हर्क गुरुङको १३ स्मृति दिवस मनाइयो

काठमाडौं । वरिष्ठ योजनाविद तथा पर्वतीय पर्यटनका विशेषज्ञ स्वर्गीय डा. हर्क गुरुङको १३ औं स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा डाक्टर अर्क गुरुङको जीवनी र महत्वबारे वक्ताहरुले प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद पार्वत गुरुङले डा. हर्क गुरुङको निधनले राष्ट्रले ठूलो क्षति व्यहोर्नु परेको बताउनुभयो । ‘उहाँको सपनालाई साकार पार्न अरु धेरै बौद्धिक गतिविधि गर्न सकिन्छ।’ उहाँले भन्नुभयो, ‘उहाँको सम्मानमा गर्नुपर्ने कार्यका लागि म प्रतिवद्धता व्यक्त गर्दछु ।’ सांसद गुरुङले आज पनि राज्यमा डा. गुरुङको आवश्यकता खड्किएको बताउनुभयो ।

कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. गणेश गुरुङले डा. हर्क गुरुङको व्यक्तित्व, उहाँको अहिलेसम्म प्रकाशनमा नआएका विभिन्न स्वभावबारे चर्चा गर्नुभयो । डा. गणेश गुरुङका अनुसार डा. हर्क गुरुङ एक चित्रकार पनि हुनुहुन्थ्यो, उहाँले आफ्नै चित्र कोर्नुभएको थियो । उहाँले हिमाल आरोहणका लागि गरेको प्रयास आदिवारे चर्चा समेत गर्नुभयो ।

नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङले डाक्टर हर्क गुरुङसंग गर्नुभएको महत्वपूर्ण संवादलाई स्मरण गर्नुभयो । ‘डाक्टर गुरुङको योजना, सपनालाई साकार पार्न सबैले काँधमा काँध मिलाएर अघि बढ्न आवश्यक छ ।’ उहाँले भन्नुभयो । संघले डाक्टर हर्कको स्मरण गर्दै ‘डा. हर्क गुरुङ पुरस्कार’ स्थापना गरेकोबारे पनि सचिव टिकाराम गुरुङले चर्चा गनुृभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का महासचिव सरिता लामाले डाक्टर गुरुङको स्मरणमा टानले पचास हजार राशीको पुरस्कार स्थापना गरेकोबारे उल्लेख गनुृभयो ।

तमू बौद्ध सेवा समितिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले विभिन्न संघसंस्थाले स्वर्गीय डाक्टर हर्क गुरुङलाई सम्झनुमात्र नभई राज्यले उहाँलाई सम्झनुपर्ने, राज्यले डाक्टर गुरुङको योगदानलाई स्मरण गर्नुपर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको अध्यक्ष्तामा सम्पन्न स्मृति दिवसका अवसरमा स्वर्गीय डाक्टर गुरुङको तस्विरमा माल्यापर्ण तथा श्रद्धाञ्जली अर्पण गरियो ।

नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन), तमू ह्युल छोंझ धिं गुरुङ राष्ट्रिय परिषद, तमू बौद्ध सेवा समिति लगायत आठ वटा संस्थाको संयुक्त आयोजनामा स्मृति दिवस मनाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार