संस्कार, संस्कृति र खानपानमा पनि पर्यटन खोजिनुपर्छः संञ्चारमन्त्री बास्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पर्यटन हिमालमात्र नभएर त्यस क्षेत्रका समुदायको संस्कृति, खानपान, नाच, संस्कारमा पनि पर्यटन खोजिनुपर्ने बताउनुभयो । नेपाल पर्वतारोहण संघको २९ औं वार्षिक साधारणसभाको अवसरमा मन्त्री बास्कोटाले पर्यटन प्रवद्र्धनसँगै पर्यटन संस्कृतिको विकास गर्न जरुरी रहेको बताउनुभएको हो ।

‘नेपाल बहुसांस्कृति र विविधतायुक्त देश हो । यहाँ बस्ती, नाच, गीत, खानपानमा पर्यटन खोज्नुपर्छ।’ मन्त्री बास्कोटाले भन्नुभयो, ‘हामीसंग भएको हरेक चीजलाई पर्यटनसंग जोडेर हेर्नुपर्दछ ।’

संघको साधारणसभाको अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले नेपाल राष्ट्रको विकास र समृद्धिका निम्ति हिजोका कमिकमजोरीहरुलाई भुलेर एकताबद्ध भएर अघिढ्नुपर्ने विचार राख्नुभयो ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पदयात्री र पर्वतारोही व्यवसायीले नै दिएको सुझाव अनुसार तयार भएको उद्धार कार्यविधि कार्यान्वयनमा व्यवसायीहरुले सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पदयात्रा र पर्वतारोहणबीचको सम्बन्ध रङ र मासुको जस्तै भएकाले संस्थागत सहकार्यलाई प्रभावकारी बनाएर लैजाने बताउनुभयो ।

संघका अध्यक्ष सन्तवीर लामाले नेपाल भ्रमण वर्षको अभियानलाई प्रभावकारी बनाउन पर्यटन क्षेत्रका संस्थाहरु सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाको अवसरमा गत आर्थिक वर्षमा संघअन्तर्गतका चुलीहरुको सर्वाधि आरोहण अनुमति जारी गर्ने १० उत्कृष्ट ट्रेकिङ कम्पनी सदस्यलाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा संघले पर्वतीय पर्यटन क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संघले डा हर्क गुरुङ पर्वतीय पुरस्कार वरिष्ठ पर्यटन व्यवसायी स्व आङ्छिरिङ शेर्पा र कुमार खड्ग विक्रम साहसिक पुरस्कार अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङजुम शेर्पालाई प्रदान गर्यो ।

त्यसैगरी दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय जुली गुरुङ र भरतबन्दु थापा पर्वतीय पर्यटन पत्रकारिता अवार्डबाट सम्मानित भए । कार्यक्रममा सम्मानित सबैलाई मन्त्री बाँस्कोटाले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

उद्घाटन सत्रमा गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) का कलाकारहरुले गुरुङ सस्कृति झल्कने सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । शनिबार सम्पन्न संघको २९ साधारणभाको बन्दसत्रले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार