प्राधिकरणद्धारा सोलु करिडोरको अवरोध हटाउन पहल सुरु ।

नेपाल विद्युत प्राधिकरणले १३२ केभी सोलु करिडोर डबल सर्किट प्रसारण लाइन आयोजनाको अवरोध हटाउन पहल सुरु गरेको छ । सोलु कोरिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत खेर जाने अवस्था आउन नदिन स्थानीयले गरेको अवरोध हटाउन पहल थालिएको हो ।

प्रसारण लाइनको रुट पर्ने कटारी नगरपालिका-४ मरुवामा स्थानीयले गरेको अवरोध हटाउन पहल गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उदयपुर पुगेका छन् । प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरीसहित पुगेका घिसिङले कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र सम्बन्धित वडाका अध्यक्ष तथा स्थानीयसँग छलफल गरेका छन् ।

उनले छलफलका क्रममा स्थानीयको मागअनुसार निर्माणाधीन प्रसारण लाइनको रुट परिवर्तन गर्न नसकिने प्रष्ट पारेका छन् । उदयपुरका स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने माग राखेर २ वर्षदेखि काममा अवरोध पुर्याउँदै आएका छन् । प्राधिकरणले स्थानीय अवरोधका कारण यो रुटमा पर्ने प्रसारण लाइनको ९ वटा टावर निर्माण गर्न सकेको छैन ।

सोलुखुम्बुको तिङलादेखि सिराहाको मिर्चैयासम्म पर्ने प्रसारण लाइन ९० किलोमिटर छ । प्रसारण लाइनअन्तर्गत ३ सय ३ वटा टावर निर्माण गर्नुपर्नेछ । जसमध्ये अहिलेसम्म २ सय ४८ वटाको जग हालिएको छ । १ सय ६० टावर खडा भएका छन् । ३१ किलोमिटर क्षेत्रमा तार तानिएको छ ।

प्रसारण लाइनअन्तर्गत तिङलामा १३२/३३ र ३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण लाइन निर्माण नहुँदा २३.५ मेगावाटको सोलु जलविद्युत आयोजना पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । यो आयोजनाको विद्युत सिराहाको लाहानबाट तिन्लासम्म पुगेको ३३ केभी लाइनमा अस्थायीरूपमा जोड्ने प्रयास भइरहेको छ । प्रसारण लाइनको काम सम्पन्न हुन नसकेकै कारण निर्माण अन्तिम चरणमा पुगेको ८२ मेगावाटको तल्लो सोलुको पनि विद्युत खेर जाने अवस्था देखिएको छ ।

सोलु कोरिडोरमा सोलु र तल्लो सोलुसहित २ सय २५ मेगावाटका १२ जलविद्युत आयोजनाको विद्युत जोड्ने गरी निजी लगानीका आयोजनासँग विद्युत खरित सम्झौता (पिपिए) गरेको छ । जसमध्ये सोलु र तल्लो सोलु सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई दिएका आयोजना हुन् । यी आयोजनाको विद्युत प्रसारण लाइन समस्याले प्रणालीमा जोडिन नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नु पर्ने व्यवस्था पिपिएमा छ । श्रोत उर्जा खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार