संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी सरकारले नक्सा सार्वजनिक गरेपछि संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्तावमा छलफल र निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा लिपुलेकसहित अन्य अतिक्रमित भू–भागहरु फिर्ता गर्न भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल अविलम्ब सुरु गर्दै सार्थक र परिणाममुखी वार्ता गर्न सरकारलाई प्रस्ताव गर्ने विषयमा छलफल भएको थियो ।

यस्तै, रुकुम घटनालाई ढाकछोप गर्ने कार्य भइरहेको भन्दै कांग्रसले सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न संसदीय छानबिन समिति बनाउन सरकारसँग माग गरेको छ ।

सरकारको अकर्मन्यता र अयोग्यताका कारण कोरोना संक्रमणबाट छजनाले ज्यान गुमाइसकेको र हजारभन्दा बढी व्यक्ति संक्रमित भएको भन्दै बैठकमा सरकारको आलोचना भएको छ ।

यस्तै, बैठकले कोरोनाविरुद्धको राहत व्यवस्थापनमा स्थानीय सरकारलाई तत्कालन रकम विनियोजन गर्न, परीक्षण दर बढाएर स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थापन गर्न, विदेशबाट नागरिकहरुलाई तत्काल उद्धार गर्न सरकारसित माग गरेको छ ।

‘क्वारेन्टाइन’को मापदन्ड, ‘आइसोलेसन वार्ड’को संख्या वृद्धिलगायतका विषयमा तत्कालन ध्यान पुर्‍याउन पनि सरकारसँग माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार